बालबालिकामाझ नेवाः सुन्दरी नितुको जन्मदिन

काठमाडौं । नेवाः सुन्दरी नितु डंगोलले आफ्नो जन्मदिन बालबालिकासँग मनाएकी छिन् । ‘मिस नेवाः ११३९’ नितु डंगोलले शुक्रबार आफ्नो जन्मदिन नयाँवानेश्वरको संगमचोकमा रहेको न्यु नेपाल सोसाइटी सेन्टरमा आश्रित बालबालिकाका साथ मनाएकी हुन् ।

उनले आश्रममा आश्रित ४० बालबालिकाका बीच केक काटेकी थिइन् । नितुले बालबालिकाको अध्ययनमा सघाउन कापी, कलम, इरेजर, कटरलगायतका शैक्षिक सामग्री उपलब्ध गराएकी थिइन् । डंगोलले बालबालिकाको खानपानमा सघाउन खाद्य सामग्री पनि उपलब्ध गराएकी थिइन् ।

नितुले फजुल खर्च गरेर जन्मदिन मनाउनुको साटो बालबालिकाको दैनिकी र शिक्षामा सघाउन खाद्यान्न तथा कपी कलम उपलब्ध गराउँदा आत्मसन्तुष्टि मिलेको बताइन् ।

डंगोलसँग ‘मिस नेवाः’ आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, नयाँ ‘मिस नेवाः’ कृषा महर्जन, ‘फष्ट रनर अप’ प्रिया तुलाधरलगायत पनि आश्रम पुगेका थिए ।