ग्लोबल एनआरएन सिंगिङ आइडलमा २० छनोट

काठमाडौ । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१’ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छनोट भएका छन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा समितिले आयोजना गरेको प्रतिष्पर्धामा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका २५ जनामध्येबाट ‘गाला राउन्ड’को दोस्रो चरणमा २० जना छानिएका हुन् ।

आइडलका निर्णायकमा गायक उदय सोताङ, विजय लामा, गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन् । २० जना उत्कृष्ट प्रतिस्पर्धाहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन), सुरेन घताङ ‘शिव’ (कोरिया), किशोर लम्साल (कतार) रहेका छन् ।

त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुवेत), दीपेश सिग्देल (नर्वे), राधिका कुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङतान (बहराइन) उत्कृष्ट २० मा परेका छन् ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीले निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धाहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताए । एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको दोस्रो चरणमा २५ जना प्रतिस्पर्धीहरुले प्रस्तुति दिएका थिए ।

रेग्मीका अनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।