इनास अमेरिका अध्यक्षमा कन्हैया

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अन्तर्गतको (इनास अमेरिका)को केन्द्रिय अध्यक्षमा गायक तथा संगीतकार कन्हैया सिंह परियार सर्वसम्मतले चयन भएका छन् । इनास विश्वका ७० राष्ट्रहरुमा स्थापना भएको नेपाल बाहिर रहेका नेपाली कलाकारहरुको वृहत संस्था हो ।

अमेरिकाभरी रहेका नेपाली कलाकारहरुको तेश्रो अधिवेशनले गायक तथा संगीतकार परियारलाई इनास अमेरिकाको अध्यक्ष पदमा चयन गरेको हो । इनास अमेरिकाको तेश्रो अधिवेशन भर्जिनियाको फेरफेक्सस्थित तन्दुरी पार्टी प्यालेसमा सम्पन्न भएको छ । अधिवेशनमा करीब डेढ सय नेपाली कलाकारहरुको सहभागिता थियो ।

इनास अमेरिकाको बरिष्ट उपाध्यक्षमा गोपाल नेपाल ‘फिस्टे’, उपाध्यक्षमा अंकुश नेपाल, रिता श्रेष्ठ, महासचिवमा रमेश मैनाली, सचिवमा सन्त पोखरेल, कोषाध्यक्षमा राजन अधिकारी र सह–कोषाध्यषमा गीता रेग्मी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा दीपा अधिकारी, अमिता लामा, भरत बराईली, अनिल तिमिल्सिना, सुगन्ध श्रेष्ठ, नविन केसी, निशेष भट्टराई, प्रकाश नेपाल, उज्वलसिंह ठकुरी चयन भएका छन् । सो अधिवेशनबाट यसैगरी इनासको भर्जिनिया राज्य कार्य समितिमा राहुल केसीको अध्यक्षताक्ष्यतामा २० सदस्य कार्य समितिको गठन भएको छ । उता मेरिलेण्ड राज्य कार्य समितिमा सृजन ताम्राकारको अध्यक्षतामा ३३ सदस्य कार्य समिति गठन भएको छ ।

इनास अमेरिका पेन्सलभेनिया राज्य कार्य समितिमा विकाश घले गुरुङको अध्यक्षतामा ९ सदस्य कार्य समितिको गठन भएको छ । त्यसैगरी केन्टकी राज्यको कार्य समितिमा अर्जुन थापाको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति लगायतको गठन भएको छ । समारोहमा नयाँ कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराएर जिम्मेवारी सुम्पिइएको थियो । उक्त कार्यक्रम इनास ग्लोबलका उपाध्यक्ष साबु गदाल कार्कीको प्रमुख आतिथ्य सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अथितीको रुपमा बानाका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त, निवर्तमान नेपाल प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल, इनास ग्लोबलका सचिव हरी शर्मा रहेका थिए । समारोहमा उनीहरु सहित अभिनेत्री अरुणिमा लम्साल, अभिनेता मुकेश ढकाल, चरित्र अभिनेता राजु बजाज, गायक मधु क्षत्री, गायक वसन्त खड्का लगायतले यो कार्यसमितिलाई शुभकामना दिए ।

सो अधिवेशनमा इनास अमेरिकाले साहित्यतर्फ कवयित्री तारा पराजुली, पत्रकार सतिश चापागाईं, खेलतर्फ तेक्वान्दो सातौं राजकुमार थापा, कृष्ण बलाल, मिस नेपाल नर्थ अमेरिका–२०२१ मा मिस पपुलर च्वाइस अवार्ड विजेता नग्मा गुरुङ, सामाजिक अभियन्ता सुवोध पन्त, चलचित्र निर्देशक केपी पाठक, कलाकार शिवहरी पौडेल तथा एनआरएनका पूर्व खेलकुद संयोजक चन्द्र लामालाई सम्मान गरेको थियो ।