दशैंपछिबाट छायांकनमा गोर्खा वारियर–२

काठमाडौं । फिल्म ‘गोर्खा वारियर–२’को बाँकी छायांकन दशैं पछिबाट बेलायतदेखि सुरु हुने भएको छ । कोभिड र अन्य प्राविधिक कारणले रोकिएको छायांकनको बाँकी भाग आगामी अक्टोबर १९ देखि सुरु हुन लागेको हो ।

बेलायतबाट नेपाल फर्किएका निर्देशक चाम्सले बेलायत, भारतलगायतका देशमा अबको बाँकी छायांकन गर्ने बताए । उनका अनुसार फिल्मको छायांकनको लागि लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केही प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छायांकनको तयारी हुनेछ ।

फिल्म ‘गोर्खा वारियर’को छायांकन गर्न केही ढिला हुने भएकाले आफुले ‘गोर्खा वारियर–२’ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब हलमा पनि ‘गोर्खा वारियर २’ रिलिज भएपछि मात्र ‘गोर्खा वारियर’को निर्माण सुरु गर्ने पनि उनले बताए ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने फिल्ममा सहनिर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू छन् । फिल्म नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिनेछ ।

फिल्ममा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो फिल्मबाट डेब्यु गर्दैछन् ।