टुल्कीमा शिशिरको फरक गेटअप

काठमाडौं । बहुपति प्रथामा आधारित नेपालकै पहिलो फिल्म ‘टुल्की’को टिजर तथा पहिलो अनुहार सार्वजनिक गरिएको छ । द पाल्म ग्रुपले निर्माण गरेको फिल्म डोल्पाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका स्थानमा छायांकन गरिएको छ ।

फिल्मका निर्माता शेखर लामाले डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ’टुल्की’ मार्फत देखाइएको बताए ।

‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि फिल्म बनेको छैन, टुल्की पहिलो फिल्म हो, निकै जोखिम मोलेर खिचिएको यस फिल्मका लागि झन्डै चार वर्ष अनुसन्धान नै गरें,’ निर्माता लामाले भने ।

लामाका अनुसार बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन । जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ । फिल्ममा आरपी कर्माचार्य र शेखर लामाको निर्माण छ ।

देवजंग थापाको छायांकन र निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायतलगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा अभिनेता शिशिरलाई फरक गेटअपमा देखाइएको छ ।

फिल्ममा सञ्जीव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन र दीप तुलाधरको मिक्सिङ छ ।