मनाङको अवलोकनमा बलिउडकर्मी

मनाङ । कोभिड–१९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड फिल्म छायांकन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायांकन हुन लागेको फिल्म ‘उचाई’को लोकेसन हेर्नका लागि बलिउडकर्मी मनाङ पुगेर काठमाडौं फर्किएका छन् ।

फिल्मको छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता तथा निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुईवटा हेलिकप्टरबाट मनाङ आएका थिए । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर फिल्म छायांकनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् ।

सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकन पश्चात् टोली आज काठमाडौँ फर्किएर सगरमाथा आधारशिविरमा पनि छायांकनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए ।

उनका अनुसार मनाङ छायांकनका लागि निकै उपयुक्त स्थान रहेको छ । मनाङमा करिब १० दिन सो फिल्मको छायांकन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायांकन गरिने बताइएको छ ।

यस फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन ईरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ । दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ ।

यस फिल्म छायांकनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र फिल्म प्रदर्शन पश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्नसक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए । उनका अनुसार यस बलिउड फिल्म प्रदर्शन पश्चात् मनाङ मात्र नभइ सिङगो नेपालकै प्रचारप्रसचार हुने र नेपाललाई विश्व सामु चिनाउन मद्दत पुग्नेछ ।