शाहरुख पुत्र आर्यन पक्राउ

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित आठजनालाई नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले पक्राउ गरेको छ । उनीहरुलाई एनडीपीएस एक्ट अन्तरगत पक्राउ गरेको हो । ब्यूरोले शाहरुखका छोराले रेव पार्टीमा सहभागिता जनाएको आरोप लगाएको छ ।

ब्यूरोले शनिवार राती मुम्बईको एक क्रुजमा छापा मारेको थियो । जहाँ रेव पार्टी चलिरहेको थियो । यो पार्टीमा शाहरुखका छोरा आर्यन पनि थिए । आर्यनलाई सोधपुछका लागि एनसीबीले आफ्नो कार्यालयमा ल्याएको थियो । लामो सोधपुछ पछि आर्यनलाई पक्राउ गरिएको छ ।

आर्यनलाई मेडिकलका लागि अस्पताल ल्याइएको थियो । उनीसँगै उनका साथीहरुलाई पनि पक्राउ गरिएको हो । ब्यूरोका अनुसार क्रुजमा ड्रग्स पार्टी चलिरहेको थियो ।

एनसीबीका मुम्बई निर्देशक समीर वानखेडेका अनुसार पार्टीबाट आर्यन खान, अरबाज मर्चेंट, मुनमुन धमीजा, नूपुर सारिका, इस्मत सिंह, मोहक जसवाल, विक्रांत चोकर र गोमित चोपडा पक्राउ गरिएका छन् । ब्यूरोका सदस्यहरु यो क्रुजमा यात्रु भएर गएका थिए ।

शाहरुख पुत्र आर्यन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी प्रायः आफ्नो तस्वीर र भिडियो शेयर गरिरहन्छन् ।