रहेनन् नट्टु काका

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन शो ‘तारक मेहताका उल्टा चश्मा’मा ‘नट्टू काका’को भूमिका निर्वाह गरेर चर्चित बनेका अभिनेता घनश्याम नायकको ७७ वर्षको उमेरमा निधन भएको छ । उनी क्यान्सरबाट पीडित थिए ।

घनश्यामको निधनको पुष्टि शोका निर्माता असित मोदीले गरेका छन् । ‘हाम्रो प्रिय नट्टु काका हामीमाझ रहेनन् । परम कृपालु परमेश्वर उनलाई आफ्नो चरणमा स्थान दिनुहोला र परम शान्ति दिनुहोला । उनको परिवारलाई यो दुःख सहन सक्ने शक्ति दिऊन । नटु काका हामी तपाईंलाई भुल्न सक्दैनौं,’ असितले सामाजिक सञ्जालमा लेखेका छन् ।

घनश्यामका छोरा विकासका अनुसार तीन महिना अघि घनश्यामको घाँटीमा केही गाँठा देखिएका थिए । जसका कारण उनको उपचार सुरु भएको थियो । गत वर्ष उनको घाँटीको अपरेसन गरेर ८ गाँठा निकालिएको थियो । निरन्तर उपचार पछि उनको स्वास्थ्यमा सुधार आएको थियो ।