२ नम्बरीसँग खुशी उपासना

काठमाडौं । चैत्रको तेश्रो साताबाट पुनः छायांकनमा जाने फिल्म ‘२ नम्बरी’मा अभिनेता सौगात मल्लसँग अभिनेत्री उपासना सिंह ठकुरीले रोमान्स गर्ने भएकी छन् । उपासनासँग फिल्मको निर्माणपक्षले सोमबार कागजी सम्झौता गरेको हो ।

अभिनेत्री उपासनाले फिल्ममा भित्रिन पाउँदा आफू खुशी भएको बताइन् । उनले अभिनेता सौगातसँग रोमान्स गर्ने आफ्नो चाहनालाई ‘२ नम्बरी’ले पुरा गरेकोमा आभार व्यक्त गरिन् ।

फिल्ममा अभिनेत्री वर्षा राउतले काम गर्ने पक्का भएको थियो । तर, वर्षा बाहिरिसँगै निर्माणपक्षले उपासनालाई भित्राएको हो । फिल्ममा अब दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगेन छोदेनको मुख्य भूमिका रहनेछ ।

आउँदो वर्षको कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

फिल्मको कथावस्तु अझै परिमार्जन गरेर बलियो बनाएको निर्देशक लामाले बताए । फिल्मले दुई साथीको कथा भन्नेछ । फिल्ममा दीपक मनाङ्गे र अमला देवी राइको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।