आज मिस उर्लाबारी छानिँदै

धरान । उर्लाबारीको होटल ग्रान्डको प्रांगणमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने ‘नेपाल आइस मिस उर्लाबारी’को तेस्रो संस्करणको लागि १७ जना अन्तिम प्रतिस्पर्धि युवतीहरु ताज जित्ने होडमा छन् ।

बीस दिन बिभिन्न क्षेत्रका विज्ञहरुबाट इपिएस, व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धी प्रशिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धीहरुबाट तेस्रो ‘मिस उर्लाबारी २०२२’, फस्ट रनर अप, सेकेन्ड रनर अप छानिनेछन् ।

त्यस्तै मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस बेस्ट वाक, मिस फ्रेन्डशिप, मिस एथलेट, मिस पब्लिक च्वाइस, मिस फोटोजेनिकलगायतका सब टाइटल एवार्डहरु रहेका छन् । विजेताले पचास हजार नगद, फस्ट रनर अपले तिस हजार नगद र सेकेन्ड रनर अपले बिस हजार नगद सँगै विभिन्न पुरस्कारहरु पाउनेछन् ।

प्रतियोगितामा कुमकुम चौधरी, प्रमिषा धिमाल, विधा दाहाल, दिया दाहाल, शाकिरा कार्की, सुष्मिता खत्री, निहारिका भट्टराई, आस्था भट्टराई, अभिशा रिमाल, अंकिता कटवाल, ज्वाला लिम्बु, मनिषा थापा, सोफिया लिम्बु, अंकिता बरुवाल, नेलीना कट्टेल, चंचल शाह, निशा धिमाललगायतका प्रतिष्पर्धीहरु छन् ।

सबिना पोदारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशन हब, उर्लाबारी तथा विशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको छ । यसअघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन् ।

स्थानीय युवतीहरुको प्रतिभा प्रस्फुटनको अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारीमा प्रतिष्पर्धीहरुलाई निःशुल्क सहभागी गरिएको र आउँदो वर्षबाट नियमित आयोजना गर्ने योजना रहेको आयोजक जीवन चिमरिया बताउँछन्।