यस्तो छ आलिया र रणवीरको प्रेमकथा

मुम्बई(एजेन्सी) । अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरको प्रेमकथा अहिले चर्चामा छ । भट्ट परिवारका अनुसार दुवै विवाहको अन्तिम चरणमा छन् । उनीहरुको विवाहको मिति पनि तय भइसकेको छ ।

उनीहरुको प्रेमको कुरा गर्दा आलियाले आफ्नो पहिलो फिल्म ‘स्टुण्डेण्ट अफ द इयर’को रिलिज अघिबाट नै रणवीरप्रति आफ्नो प्रेम दर्शाइ सकेकी थिइन् । यो फिल्म सन् २०१२ मा रिलिज भएको थियो ।

आलिया र रणवीरले १४ अप्रिलमा विवाह गर्दैछन् । विवाहको रिसेप्सन पाँच दिनको हुनेछ । विवाह उत्सव आरके हाउसमा हुँदैछ । उनीहरुको विवाहमा दुवैका परिवारसँगै नजिकका साथीहरु सहभागी हुनेछन् । विवाह अघि आलियाले एक ब्याचलर पार्टी पनि राख्दैछिन् ।

आलियाले कपुर परिवारसँग जोडिनु अघि धेरै फिल्ममा कपुर परिवारसँग काम गरिसकेकी छन् । पहिलो फिल्म ‘स्टुडेण्ट अफ द इयर’ मा अभिनेता ऋषि कपूरका साथ उनले काम गरेकी थिइन् । यो फिल्म पछि आलिया ऋषिकै साथ फिल्म ‘कपूर एण्ड सन्स’मा देखिइन् ।

ऋषिले कैयौं पटक आलियाको अभिनयको तारिफ गरेका छन् । उनले कैयौं पटक आलियालाई युवा कलाकारमा सबैभन्दा प्रतिभाशाली अभिनेत्रीका रुपमा बयान गरेका छन् ।
आलियाले रणवीरप्रतिको झुकावको संकेत ‘कफी विद करण’मा गरेकी थिइन् । पहिलो फिल्मको प्रमोसनका लागि यो शोमा पुगेकी आलियालाई निर्देशक तथा निर्माता करण जोहारले ‘आफ्नो विवाहको स्वयंवरमा तपाईं कुन तीन अभिनेतालाई हेर्न चाहनुहुन्छ ? भनी सोधेका थिए । आलियाले पहिलो नाम रणवीरको लिँदा दोस्रो नाम सलमान खान र आदित्य रोय कपुरको लिएकी थिइन् ।

आलियाको प्रेम कथाको सुरुवात सञ्जय लीला भन्सालीको सेटबाट भएको थियो । आलियाका अनुसार उनले सन् २००५ मा पहिलोपटक रणवीरलाई देख्दा नै आफू उनको ‘क्रश’ भएको अनुभव गरेकी थिइन् । दुवैको अफेयरको चर्चा भने अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ साइन गर्दा भएको थियो ।

सुरुवाती समयमा मानिसहरुले यसलाई केवल गसिप मात्र माने । अर्थात् फिल्मको प्रमोसनका लागि एक हिस्सा ठाने । तर यो केवल गसिप मात्र बनेन, वास्तविकतामा नै परिणत भइदियो । यो जोडी अभिनेत्री सोनम कपुरको विवाहको रिसेप्सनमा हात समाएर पुगेका थिए । यसपछिका कैयौं अवार्डमा उनीहरु सँगै देखिए । रणवीरको नाम दीपिका पादुकोण, कटरीना कैफ र सोनम कपुरसँग जोडिइसकेको छ ।