लुकुवामा गुञ्जिए राजेशपायल

धरान । बिहिवार बैसाख १ गते नेपाली नयाँ बर्ष २०७९ को अवसरमा आयोजित सांगीतिक कार्यक्रममा यो वर्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजेशपायल राई धरानको बगरकोट नजिकै रहेको लुकुवा फेमिली रिसोर्टमा पुगेका थिए ।

‘मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो’ भन्दै स्टेज प्रवेश गरेका गायक राजेश पायल राईले दर्शकलाई भरपुर मनोरञ्जन गराए । बेलुकी नौ बजे स्टेज उक्लिएका उनले करिब दुई घन्टा दर्शकलाई आफ्नो गलाको कलाले झुमाएका थिए ।

उनले धराने दर्शकलाई ‘दर्शन नमस्ते’, ‘नाइँ नभन्नु ल’, ‘मलाई पनि अंग्रेजीमा’, ‘टल टल’, ‘सायारेम’, ‘दुई चुल्ठी बाट्नेलाई’, ‘हुरुक्कै भएँ म’लगायतका आफ्ना डेढ दर्जन लोकप्रिय गितहरु पस्किदा दर्शकले लगातार साथ दिईरहेका थिए ।

उनले लगातार आफ्ना पुराना र नयाँ हिट गितहरु पस्केका थिए। राजेशपायलको अब भने रोमानिया, सिक्किम, युके, युएसए र क्यानडामा म्युजिकल टुर रहेको छ ।