सर्यो पुजा र आकाशको सम्झना बिर्सना

काठमाडौं । यही वैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनलाई कारण देखाउँदै अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा स्टारर फिल्म ‘सम्झना बिर्सना’को रिलिज पछाडि सारिएको छ । यो फिल्म आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । निर्माण टिमले प्रचारप्रसार अपुग तथा चुनावलाई प्रमुख कारण मान्दै रिलिज सारेको हो ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । पूजा र आकाशका अलावा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको यो फिल्म आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

कोरोना महामारीभन्दा अगाडि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको यस फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको नृत्य निर्देशन रहेको छ । शिशिर राणा र निमेष प्रधानले फिल्मको संवाद तयार पारेका हुन् ।