हनी बनीमा जसितासँग अभिमन्यू

काठमाडौं । निर्देशक दिवाकर भट्टराईको नयाँ फिल्म ‘हनी बनी’मा भारतीय मोडल अभिमन्यु तोमरले अभिनेत्री जसिता गुरुङसँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । यसअघि फिल्मका लागि अभिनेता अनमोल केसी फाइनल भए पनि अन्तिम समयमा उनले फिल्मबाट अलग्गिने निर्णय लिएपछि अभिमन्यूले अनमोलको स्थान लिएका हुन् ।

भारतको नयाँदिल्लीमा जन्मिएका २७ वर्षेले अभिनय गरेको ‘याद पिया के आने लगी’ लोकप्रिय छ । उनले केही हिन्दी गीतमा अभिनय गरेका छन् । बलिउडबाट अभिनयमा ब्रेक नपाएका अभिमन्यू पहिलोपटक यही नेपाली फिल्मबाट अभिनयमा पाइला चाल्दैछन् ।

बेलायतमा छायांकन हुने फिल्ममा अभिनेत्री सारा सिर्पालीले अभिनय गर्ने भनिए पनि बेलायतबाट भिसा नआएपछि जसिताले मौका पाएकी हुन् । फिल्ममा कलाकार सलोन बस्नेतको पनि अभिनय रहनेछ ।

एबी इन्टरनेशलको प्रस्तुती रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मसले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् ।