दयाहाङ भन्छन्–अर्ग्यानिक नीरफूल

काठमाडौं । आगामी जेठ २६ बाट रिलिज हुने फिल्म ‘नीरफूल’ का अभिनेता दयाहाङ राईले फिल्मले  अर्ग्यानिक स्वाद पस्कने बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले गणेश हिमाल मुनिको रुवी भ्यालीमा छायांकन गरिएको फिल्मले मौलिक विषयवस्तुलाई मौलिक ढंगले प्रस्तुत गरेको दाबी गरे ।

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सँधै बाँचिरहने फिल्ममा काम गर्न मन लागेको खुलाए । ‘नीरफूलबारे चाहिँ यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’ उजले भने, ‘यो चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ,’ उनले भने ।

कोरोना महामारीको कारण यस अघि रिलिज रोकिएको यो चलचित्र फूलमान वलले निर्देशन गरेका हुन् । फिल्ममार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले दावी गरे । ‘फिल्ममा भुकम्प आउँछ, यो फिल्म भुकम्पको कथा माथि हैन । हाम्रो समाज र जीवनमा आउने भुकम्प, करप्टेड सिस्टमले ल्याउने भुकम्प चाहिँ फिल्ममा छ’, उनले भने ।

नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यो चलचित्रका अर्का अभिनेता बुद्धी तामाङले नीरफूलको कथाबस्तु र तामाङहरुको मौलिक संस्कृतिमा काम गर्दा निकै आनन्द आएको बताए । फिल्म समसामयिक बिषयसँगै मौलिक संस्कृतिमा केन्द्रित रहेको उनले जिकिर गरे । आफु यो फिल्ममा सञ्चारकर्मीको भूमिकामा रहेको पनि उनले खुलाए । अभिनेत्री शान्ति वाइबाले आफू रंगमञ्चबाट आएको बताउँदै रंगमञ्चबाटै स्थापित दयाहाङ राईसँग काम गर्न पाउँदा निकै खुशी लागेको बताइन् । उनले यो चलचित्रमा नायिकाको रुपमा डेब्यु गर्दैछिन् ।

भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय गरेका छन् ।

डोमा सोनाम कार्यकारी निर्माता रहेको चलचित्रलाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गरेका हुन् । चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ ।