रिमेक भर्सनमा बादल बर्षा बिजुली

काठमाडौँ। १८ बर्ष पहिले बनेको फिल्म ‘कर्तव्य’मा रहेको गीत ‘बादल बर्षा बिजुली’ रिमेक भर्सनमा दर्शकमाझ आएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी गीतलाई पुनःरेकर्ड गरी बनाईएको म्यूजिक भिडियो सोमवार सार्वजनिक गरिएको छ । गीतको एरेन्ज पनि पुनः गरिएको छ । पुरानो गीतमा फणिन्द्र राईले एरेन्ज गरेका थिए भने नयाँमा उदयराज पौडेलले गरेका छन् ।

गायक आनन्द कार्की र गायिका प्राश्ना शाक्यले पुनः स्वर भरेका छन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् । विजु पार्की र कबिता नेपालीले अभिनय गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा गायकगायिकासँगै यसका शब्द रचनाकार करुण थापा र सङ्गीतकार सचिन सिंहको पनि उपस्थिती रहेको थियो । यो गीतको अडियोको प्रतिलिपी अधिकार फिल्मसँगै साईराम पिक्चर्सले लिएको थियो । गीतको नयाँ भिडियो भने गायक कार्कीको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

कार्यक्रममा बोल्दै गायक कार्कीले बर्षौंपछि गीतलाई ब्युँताएकोमा टिकटक प्रयोगकर्तालाई धन्यवाद दिए । उनले १८ बर्ष पहिले नै आफुले गाएको गीत अहिलेको पुस्तालाई समेत मन परेकोमा खुशी भएको बताए । गीतकार थापाले यो गीत लेख्दा लागेको समय र परिवेशको चर्चा गरे । गायिका शाक्यले १८ बर्ष पहिले पनि चर्चित बनेर धेरै स्टेजमा यो गीत गाएको सम्झना गर्दै पुनः चर्चामा आउँदा सपना जस्तो लागिरहेको बताईन् ।

निर्देशक आचार्यले ‘कर्तव्य’ को समयमा पनि आफुले यो गीतको प्रचारप्रसार गरेको सम्झना गर्दै नयाँ भर्सनमा आफुले निर्देशन गर्न पाउँदा खुशी भएको बताए । भिडियोका सह–निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोका सम्पादक बिजेश पौडेल हुन् । प्रोडक्शन डिजाईन दिपेन गौतम ‘माईकल’ले गरेका छन् ।