काजीको प्रमोसनमा पोष्टामसँग सहकार्य

काठमाडौं । आगामी माघदेखि छायांकनमा जाने फिल्म ‘काजी’ले अनलाइन प्लेटफर्म पोष्टामसँग फिल्म प्रचारप्रसारको लागि सहकार्य गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘पोष्टाम’का सीइओ रोनिस दाहाल र फिल्मका निर्देशक लक्ष्मण रिजालबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । निर्देशक रिजालले फेसबुक, टिकटकमा प्रचारका लागि गर्नुपर्ने खर्चको समाधानका रुपमा पोष्टामलाई लिएको बताए । उनले पोष्टामलाई प्रमोशनको मात्र अधिकार दिएको बताए ।

‘पोष्टाम’ले ५० लाख बराबर फिल्मको विश्वव्यापी बजार प्रवर्द्धन निःशुल्क रुपमा गर्नेछ । ‘पोष्टाम’का सीइओ दाहालले पोष्टामलाई फेसबुक जस्तै गरी प्रयोग गर्न सकिने बताए । यो ‘एफिलेट’ प्लेटफर्म पनि भएकाले फिल्मजस्ता भिडियो कन्टेन्टलाई ल्याएर त्यसको बजार प्रवर्द्धन गरिने उनको दाबी छ ।

‘सुरुवातमा हामी टिजर, ट्रेलर, पोस्टरबाटै फिल्मको बजार प्रवर्द्धन गर्छौं । यसका लागि ‘पोष्टाम’का अरु माध्यम पनि प्रयोग गर्नेछौं । हामीले आफ्नो बजार पनि अध्ययन गर्नुपर्ने भएकाले अहिलेलाई फिल्मको बजार प्रवर्द्धन निःशुल्क गरेका छौं,’ सीइओ दाहालले भने ।

फिल्ममा विपिन कार्की, वर्षा सिवाकोटी, विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्कीको अभिनय रहनेछ । सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने फिल्मको छायांकन बेलायतमा गरिने जनाइएको छ । रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्मातामा रामप्रसाद रिजाल रहेका छन् ।