नयाँ भर्सनमा न मैले लेखें, न उनले लेखिन

काठमाडौँ । गायक हिमाल सागरको स्वर र सङ्गीतमा वि.सं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखें, न उनले लेखिन’ को नयाँ भर्सन म्युजिक फिल्म तयार गरिएको छ । शनिवार काठमाडौँमा एक कार्यक्रमबीच गायक हिमाल सागरले नै तयार गरेको उक्त गीतको अडियो र म्युजिक फिल्म आधुनिक स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको हो ।

म्युजिक फिल्ममा मानस केसीको शब्द, योगेश काजी शाहको एरेञ्ज छ । यही गीतमार्फत स्थापित भएका गायक हिमाल सागरले तात्कालिन समयमा एक लाख पचास हजार भन्दा बढी अडियो क्यासेट बिक्री भएको जानकारी दिए ।

‘कन्सर्टमा म देश होस् वा विदेश सबै भन्दा बढी गीत यही गाएको छु । यो गीतलाई अहिलेको मर्म र भाव अनुसार तयार गरेको छु । पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायन थपिएको छ, एरेञ्जमा फरक गरेका छौँ, यो अहिलेको प्रविधियुक्त आधुनिक शैलीमा तयार गरिए पनि मिठास भने उही नै छ’, गायक हिमालले भने ।

पहिलो गीत नै सफल भएपछि गायक हिमाल सागरले ‘मेरो माया मारेपछि’, ‘तिमीले माया नगरे’, ‘मेरो मनमा आगो लाउने को’, ‘तीन ढिके फूली लाएर आइछौ’, ‘कल्लाई थाहा छौँ’ लगायत हिट गीत सार्वजनिक गरिसकेका छन् । सात वटा एकल एल्बम सार्वजनिक गरिसकेका गायक हिमाल सागरले साङ्गीतिक कार्यक्रमका लागि ६५ वटा भन्दा बढी देश भ्रमण गरिसकेका छन् ।

गीतमा गायक हिमालसँगै अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन् । अभिनेत्री केकी अधिकारी यो गीत आफ्नो स्कुल र कलेज लाइफमा मन पर्ने लिस्टमा एक नम्बरमा रहेको बताइन । उनले भनिन्,‘यो गीत सुन्न रेडियोमा फरक फरक नाममा फोन गर्थे । धेरै साथीलाई डेडीकेट पनि गरेकी छु । यो गीत मेरो सधै फेवरेट थियो । अहिले नयाँ भर्सनमा बन्दा काम गर्ने मौका पाउँदा निकै हर्षित छु ।’
उनले आफू अष्ट्रेलियामा रहँदा नै यस गीतको भिडियोमा काम गर्ने अफर आएका कारण भ्रमण छोट्याएर नेपाल फर्किएर काम गरेको बताइन् ।

गीतमा निकेश खड्काको निर्देशन, धीरजजङ्ग शाहको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको छ । भुवन गिरी, प्रज्वल गिरी र रुपेश थापाद्वारा निर्मित ‘न मैले लेखें, न उनले लेखिन’ बोल रहेको गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर) बाट सार्वजनिक गरिएको छ ।