निलम्स अवार्ड सम्पन्न

काठमाडौँ । प्राइड मन्थ २०२४ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा निलम्स अवार्ड सम्पन्न भएको छ। शुक्रवार राजधानीको योग मुभी गार्डनमा अवार्ड सम्पन्न भएको हो। उक्त रेस्टुरेन्ट कलाकार तथा कोरियोग्राफर तेञ्जु योञ्जनले विगत केहि बर्ष देखि संचालनमा ल्याउदै आएका छन्। अवार्ड कार्यक्रम ट्रान्स एक्टिभिस्ट, मेक अप आर्टिष्ट तथा समाज सेवी निलम पौडेलको एकल पहलमा सम्पन्न भएको थियो।

अवार्ड समारोहमा अवार्डमा एलजिबीटीआइक्यू समुदायमा अमूल्य योगदान दिने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो। यस वर्ष एलजिबीटीआईक्यू समुदायको संरक्षण र प्रवर्द्धन गर्न सामुदायिक स्तरमा लामो समयदेखि प्रयास गरेकोमा प्रत्येक प्रदेशबाट एक जना सहित सात व्यक्तित्वहरू सम्मानित भएका हुन्।

कोसी प्रदेशबाट देवनारायण चौधरी, मधेस प्रदेशबाट अब्दुल शाहमद (नाग्मा), वाग्मती प्रदेशबाट किरण थापा, लुम्बिनी प्रदेशबाट रजनी थकाली, लुम्बिनी प्रदेशबाट रेसम न्यौपाने, कर्णाली प्रदेशबाट अञ्जली बिसी तथा सुदूरपश्चिम प्रदेशबाट राजु लामा सम्मानित भएका थिए।

‘हामी विश्वास गर्छौँ कि एलजिबीटीआईक्यू समुदायको उपलब्धि र योगदानहरू मनाएर, हामी समानता र स्वीकृति तर्फ थप प्रगतिलाई प्रेरित गर्न सक्छौँ। हाम्रो समुदायका सदस्यहरू पनि कुनै पनि प्रकारको काम गर्न सक्षम छन्। यो कार्यक्रम एलजिबीटीआईक्यू आन्दोलनमा यी कार्यकर्ताहरूले खेल्ने निर्णायक भूमिकालाई स्वीकार गर्न र तिनीहरूका उपलब्धिहरूको दृश्यता बढाउने दिशामा एक महत्त्वपूर्ण कदम हो,’ क्रमशः इन्टरटेनमेन्टका निर्देशक निलम पौडेलले भनिन,‘ एलजिबीटीआईक्यू समुदायका व्यक्तिहरूको समस्यामा ध्यानाकर्षण गराउने धेरै रिपोर्टहरू र समाचारहरूका बाबजुद पनि यौन र लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई उनीहरूको आधारभूत मानव अधिकारको कानुनी मान्यताको कुरा गर्दा बेवास्ता गरिँदै आएको दुःखद यथार्थ हो।’

लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा अभिलेखीकरण भई उनीहरूले भोग्नुपरेको भेदभावलाई प्रकाश पार्दै समुदायको लचिलोपन, साहस र अटल मनोभावमा प्रकाश पार्न गत वर्ष २०२३ देखि निलम अवार्ड कार्यक्रम सुरु गरिएको हो ।

साथै, अवार्ड कार्यक्रममा मिस पिंक नेपाल २०२४ अनमोल राई, फस्ट रनर अप सरोसी न्यौपाने र सेकेन्ड रनर अप आरोही बस्नेतलाई सामाजिक परिवर्तनप्रतिको समर्पणको लागि अचिभमेन्ट अवार्डले सम्मान गरिएको थियो। यस वर्षदेखि, महामहिम पुरस्कार पनि सुरु गरिएको छ, जसले समुदायलाई सहयोग गरेकोमा वार्षिक दुई देखि तीन व्यक्तिहरूलाई मान्यता दिई रहेको छ। यो वर्ष दुई ड्रेस डिजाइनर सञ्चिता बराल र सोनम सुब्बा लिम्बुले उक्त अवार्डबाट सम्मान भएका थिए।

ब्लगर लेक्स लिम्बुले सञ्चालन गरेको अवार्ड कार्यक्रममा सदाबहार अभिनेत्री करिश्मा मानन्धरले प्रमुख अतिथिको रूपमा उपस्थिति जनाएकी थिइन भने भर्खरै अमेरिकाबाट नेपाल आएकी अर्की अभिनेत्री पूजा चन्द साथै अभिनेत्री श्वेता खड्का, मिस युनिभर्स शोफिया भुजेल, प्राइम टेलिभिजन कार्यक्रम प्रस्तोता बिना श्रेष्ठ र सञ्चारकर्मी आरती चटौतले प्रदान गरेका थिए । कार्यक्रममा समुदायका सदस्यहरूले मनोरञ्जनात्मक नृत्यहरू पनि पस्किएका थिए।