हरिको शतवार्षिकीमा नाटक महोत्सव

काठमाडौं । अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राजधानीमा ‘राष्ट्रिय नाटक महोत्सव २०८१’ आयोजना गर्ने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन सोमबार पूरानो वानेश्वरस्थित रिमालको निवास प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा स्व. हरिप्रसाद रिमालको शतवार्षिकीको अवसर पारेर प्रतियोगितात्मक ’राष्ट्रिय नाटक महोत्सव–२०८१’ आयोजना गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता, रंगकर्मी तथा स्व. रिमालका चेला सम्राट सापकोटाले बताए । उनका अनुसार महोत्सव राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आगामी भदौ ३० गते शुरु भई असोज २ गते समापन हुनेछ ।

‘हाम्रो नाटकको जुरीले प्रतिस्पर्धाका लागि आएका नाटकमध्ये ६ वटा नाटक प्रदर्शनको अनुमति दिएको छ । सोअनुसार ती नाटक प्रदर्शन गरी उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गर्नेछौं । पहिलो पुरस्कार स्वरुप एक लाख रुपैयाँसँगै ट्रफी र सम्मानपत्र, दोस्रो पुरस्कार ५० हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र हुनेछ । साथै उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक नाटकको अवधि एक घण्टाको हुनेछ’, सापकोटाले भने ।

उनका अनुसार कलाकर्मी र सञ्चारकर्मीलाई प्रतिष्ठानले प्रदान गर्दै आइरहेको सम्मान पनि सोही कार्यक्रममा प्रदान गरिनेछ । यसपटक २०७९ र २०८० साल गरी दुई वर्षको सम्मान एकैपटक प्रदान गरिने छ । कुल आठजनालाई प्रदान गरिने ती सम्मानको राशी ३१ र २१ हजार रुपियाँ हुने पनि उनले जानकारी गराए ।