काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत ‘दाहिने हातैमा’ सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मको दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले फिल्मका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ । रातबिहान होस् वा घाम अथवा झरी रुझ्दै र घाममा टट्दिै गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थ गीतले प्रष्ट पारेको छ ।
गीतले दुःख मात्रै होइन प्रेमको कुरा पनि गरेको छ । लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंग गीतले समेटेको छ । मायालुको बखान गरेको गीतले मायाको छेउमा पुग्दा सपनीबाट ब्युझिएको प्रष्ट पार्दै ड्रिम सिक्वेन्स भएको जानकारी दिएको छ ।
गीतमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायतको अभिनय छ । उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ । यसअघि, फिल्मको गीत ‘काँधेकुरी’ सार्वजनिक भएको थियो ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म कात्तिक १५ गते रिलिज हुँदैछ । फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । यो फिल्म नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।
फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।
फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।