पूर्ण बहादुरको सारङ्गीको मेरो बाको संघर्ष प्रतियोगिता

काठमाडौं । अभिनेताद्वय विजय बराल र प्रकाश सपूत अभिनित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियो प्रतियोगिता गर्ने भएको छ । फिल्मको निर्माण टिमले ‘मेरो बाको संघर्ष’ नाम दिदैँ बुवाको संघर्ष र महत्वबारे भिडियो प्रतियोगिता आयोजना गरेको हो।

प्रतिस्पर्धामा सहभागी हुन सहभागीहरुले आफ्नो बुवाको संघर्षको बयान गर्दै भिडियो बनाएर पठाउनुपर्नेछ। सहभागीहरुले आफुले बनाएको भिडियो आफुलाई सहज लाग्ने माध्यम जस्तै छोटो कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, मनोवाद, आदि बाट प्रस्तुत गर्न सक्नेछन् ।

सहभागीले अधिकतम ३ मिनेटसम्मको भिडियो बनाई  purnabahadurkosarangi@gmail.com मा पठाउनुपर्नेछ। साथै, सहभागीहरुले भिडियो सामाजिक संजालमा पोस्ट गर्दा अनिवार्य रुपमा #PURNABAHADURKOSARANGI, #KARTIK15, #7SEASCINEMA, #MEROBAKOSANGARSHA, #VIDEOCOMPETITION साथै  fb.com/7seascinema अथवा  fb.com/7seasentertainment  लाई ट्याग गर्नुपर्नेछ।

सामाजिक संजालमा आफुले गरेको पोस्ट वा निर्माण टिमले गरेको पोस्ट शेयर गर्दा आफ्नो बुवालाई अनि परिवारलाई पनि मेन्सन गर्नुपर्नेछ। प्रतियोगितामा लागू गर्नुपर्ने सबै नियम र सर्तहरु अन्तिम चयन र विजेताका लागि लागू हुनेछ।

विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने चलचित्र निर्माण टिमले जनाएको छ । यस्तै, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन । नगद पुरस्कार बाहेक उत्कृष्ट भिडियो बनाएर पठाउने २० जनाले चलचित्रको २र२ वटा टिकट फ्री पाउनेछन् । सहभागीहरुले भिडियो कार्तिक ८ गतेसम्म बनाएर पठाइसक्नुपर्नेछ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुँदैछ । चलचित्रमा विजय र प्रकाशका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।