काठमाडौं । नायक पल शाहको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘मोहर’ आगामी साउन २३ गते रिलिज हुने भएको छ । निर्माण पक्षले शुक्रबार फिल्ममा पलको चरित्र झल्कने तस्वीर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो ।
सार्वजनिक तस्बिरमा पलले लामो कपाल पालेका छन् । उनको हातमा बन्दुकसमेत छ । एक तस्वीरमा उनले जंगलको पृष्ठभूमिमा बन्दुक ताकेको देखाइएको छ । तस्वीर हेर्दा उनी शिकारी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर उनको भूमिका कस्तो हो भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।
फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । फिल्मका निर्माता चुम्बनजंग शाही हुन् । फिल्ममा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ ।
दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ ।