निर्देशक दीपेन्द्र भन्छन्-आफ्नो जनरामा फर्किएको छु

काठमाडौं । फिल्म ‘के घर के डेराः घर नं २’ आगामी जेठ २ गते रिलिज हुँदैछ । फिल्मको टिजर रिलिज भइसकेको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्मको विषयलाई लिएर दर्शकमा कौतुहलता छ । टिजरले दीपेन्द्रकै फिल्म ‘पशुपतिप्रसाद’को झल्को दिएको चर्चा पनि सुनिन्छ ।

फिल्म ‘के घर के डेराः घर नं २’ दुई वर्षअघि रिलिज भएको ‘के घर के डेरा’को सिक्वेल हो या नयाँ कथामा हो भन्ने धेरैका जिज्ञासा छ । निर्देशक खनाल यसलाई सिक्वेल मान्दैनन् ।

“यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा फिल्ममा छ,” उनी भन्छन्, “यो बिलकुल नयाँ फिल्म हो । नयाँ कथा हो ।”

निर्देशक खनालले पहिलो संस्करण कमेडी बेसमा निर्माण भए पनि ‘के घर के डेराः घर नं २’ आफ्नो पहिचान झल्कने कथा रहेको बताए ।

“यसमा मेरो ओर्जिनल फ्लेबर आउँछ । म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ,” उनी भन्छन्, “यो फिल्ममार्फत म आफ्नो जनरामा फर्किएको छु ।”

फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । फिल्ममा कृष्णबहादुर थापाको छायांकन छ । फिल्मको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।