अङ्ग्रेजीमा ‘मैले देखेको दरबार’

काठमाडौं । पूर्व राजाका पूर्व सैनिक सचिव विवेककुमार शाहको पुस्तक ‘मैले देखेको दरबार’को अङ्ग्रेजी संस्करण ‘विटनेसिङ प्यालेस, पावर एण्ड पोलिटिक्स’ बजारमा आएको छ । सन् २०१० मा प्रकाशित यो पुस्तकले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको थियो ।

पुस्तकको अङ्ग्रेजी संस्करणले पाठकलाई नारायणहिटी दरबारको रहस्यसँगै राजदरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको ‘कू’, माओवादी जनयुद्ध र त्यसको जन्म र त्यसलाई मलजल गर्ने शक्ति, माओवादी र मूलधारका सात पार्टीबीच भएको विस्तृत १२ बुँदे सहमति, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जस्ता विषयलाई समेटेको छ ।

लेखक शाहले आफ्नो पुस्तक प्रकाशित हुने बित्तिकै धैरै साथीहरुले पुस्तकलाई अङ्ग्रेजीमा अनुवाद गर्नका लागि अनुरोध गरेको स्मरण गरे । ‘ढिलै भए पनि पुस्तक अङ्ग्रेजीमा अनुवाद भएको छ । नेपाली पढ्न नसक्ने पाठकहरुले अब मेरो पुस्तक पढ्न पाउने छन् । त्यसैले म अत्यन्तै खुसी छु,’ उनले भने, ‘पुस्तक एक जीवन्त इतिहास हो । यसले हालसालैको नेपाली इतिहासबारे केही अन्र्तदृष्टि प्रदान गर्दछ ।’  फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको मूल्य एक हजार बाह्र रुपैया छ ।