प्रदीप र सनिशा इन्गेज्ड

काठमाडौँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराईले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले परिवार र नजिकका आफन्तको उपस्थितिमा बिहीबार काठमाडौंको बासबारीमा इन्गेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्ट दृश्य खिच्न युट्युबका क्यामरामेनहरुको बाक्लो उपस्थिति थियो ।

तर यो खबरलाई वास्तविक भने नसम्झनुहोला । किनकी प्रदीप र सनिशाले वास्तविक जीवनको श्रीमान श्रीमति हुन इन्गेजमेन्ट गरेका भने होइनन् । सुदर्शन थापाको निर्देशनमा बिहीबार घोषणा गरिएको ‘शुभ विवाह’का लागि उनीहरुले काल्पनिक इन्गेजमेन्ट गरेका हुन् । सुर्दशनका छोरा प्रियदर्शन थापाको नाममा स्थापित व्यानर प्रियदर्शन फिल्मस् घोषणा कार्यक्रममै नयाँ फिल्मको बारेमा जानकारी दिइएको हो ।

फिल्ममा हरिहर शर्मा,वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, सुनिशा बजगाईं, मेक्सम गौडेल, सन्तोष थापा, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य रहेका छन्।

सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माण रहने यस फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। फिल्मको पटकथा तथा संवाद लेखन रामशरण पाठकको छ। फिल्ममा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पाश्र्व संगीत रहनेछ।

राजेश श्रेष्ठले छायांकन (डिओपी) गर्ने यस फिल्मको सम्पादन मिलन श्रेष्ठले सम्हाल्नेछन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहनेछ। फिल्मका नृत्य निर्देशक विक्रम स्वार हुन् भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।

रोमान्टिक कथावस्तुमा आधारित हुने यस फिल्मको छायांकन छिट्टै सुरु गर्ने तयारी निर्माण पक्षको रहेको छ। फिल्म आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउनेछ ।