फूलको आँखामा फूलै संसारका गीतकार दुर्गालालको निधन

काठमाडौं । चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’का गीतकार तथा नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आइतबार राति ९३ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको बुढानीलकण्ठस्थित घरमै उनको निधन भएको हो ।

पछिल्लो छ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा कविता र गीत पनि लेखेका छन् । उनलाई दुई दशक अघि नेपाल भाषा परिषदले जनकविको उपाधि दिएको थियो । उनी प्रगतिशील साहित्यकार मानिन्छन् । उनलाई २०१० मा जगदम्बा श्री पुरस्कारसमेत प्रदान गरिएको थियो।

श्रेष्ठको जन्म एक निम्न–मध्यमवर्गीय नेवार परिवारमा वि.सं. १९९२ मा काठमाडौंमा आमा आशामोती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठको घरमा भएको थियो। उनले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेका थिए। उनले नेपाल भाषा फिल्म ‘राजामती’का गीतहरु लेखेका थिए । उनले फिल्म ‘बलिदान’का गीतहरु पनि लेखेका थिए ।