काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित फिल्म ‘चमेलीको पोइ’ को दोश्रो गीत ‘माया मान्छौ र’ बिहीबार ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको छ । आशिष अविरलको संगीत र मेलिना राईसँग युगल गायन अनि एकनारायण भण्डारीको शब्द रहेको गीतमा सुरक्षा पन्त र मुकुन भुसालको अभिनय छ । मुस्ताङका रमणीय स्थलमा छायांकन गरिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
असोज १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मको निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन् । यसअघि सार्वजनिक शीर्ष गीत ‘ओइ ओइ चमेली’ ले दर्शकको मन जितिरहेको बेलामा दोश्रो गीत दर्शकमाझ ल्याइएको हो ।
फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को ठूलो पर्दामा पुनरागमन भएको छ । फिल्ममा त्रिपाठीका साथमा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन बिक्रम राई, उमेश राई, रबिन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, बिशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतको अभिनय छ ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा शेरबहादुर तामाङको छायांकन छ । उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदिपकुमार सापकोटा छन् ।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्धन्द्ध र बन्दे प्रसादको सम्पादन छ । फिल्म आरआर फिल्मस्ले बितरण गर्दैछ ।







