काठमाडौँ । आगामी शुक्रबार अर्थात असोज २३ गतेबाट प्रदर्शन हुने फिल्म ‘अक्षरा’ले हलमा दर्शक बोलाउन आइतबार साइकल र्याली गरेको छ । कीर्तिपुरबाट २ सय ५० भन्दा बढि साइकल यात्रीहरु फिल्मको टि–सर्ट लगाएर कपनको क्लब मण्डला पुगेका थिए ।
फिल्मका निर्देशक विनयराज पौडेलले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दर्शकमाझ फिल्मलाई पुर्याउनका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए।
कार्यक्रममा अभिनेत्री न्यान्सी खड्का, अभिनेता पुस्कर राउत, फिल्मका निर्माता तथा निर्माण पक्षको उपस्थिति रहेको थियो। युनिभर्सल सर्टिफिकेट पाएको यस फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने छन्। फिल्मले आफ्नो छोरीले सुख पाउछे भन्दै चिन्दै नचिनेको धनी केटासँग विवाह गराइदिएपछि उत्पन्न हुने पारिवारिक समस्याका बारेमा कथा प्रस्तुत गरेको छ ।
फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा),सृष्टि खड्काले अभिनय गरेका छन्। साथै बालकलाकारमा रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्माता उग्रसेन आफैले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।






