डिजिटल प्लेटफर्म मेरोस्ट्रिम सुरु

काठमाडौं। डिजिटल बजारमा नयाँ ओटीटी प्लेटफर्म मेरोस्ट्रिम सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । सदस्यता शुल्कमा आधारित यो प्लेटफर्ममा फिल्म, वृत्तचित्र, सर्ट फिल्म, शो र वेब सिरिज हेर्न सकिनेछ ।

मेरोस्ट्रिमले दर्शकको आवश्यकता र खर्च गर्न सक्ने क्षमताअनुसार बेसिक, स्ट्यान्डर्ड र प्रिमियम गरी तीन सदस्यता योजना ल्याएको छ । बेसिकमा एक्लै हेर्नेका लागि बनाइएको यो योजना मासिक २ सय ९९ रुपैंयाँबाट सुरु हुन्छ । यसमा १०८०पी (फुल एचडी) गुणस्तरमा एकपटकमा एउटा डिभाइसमा हेर्न मिल्छ। तीन महिनाका लागि ८ सय ४९, छ महिनाका लागि १ हजार ६०९ र वार्षिक २ हजार ८६९ तिर्न सकिन्छ ।

त्यस्तै स्ट्यान्डर्डमा दम्पती तथा साना घरपरिवारका लागि भनिएको यो योजना मासिक ३ सय ९९ रुपैंयाँमा उपलब्ध छ। यसमा १०८०पी (फुल एचडी) गुणस्तरमा एकैसाथ दुईवटा डिभाइसमा हेर्न सकिन्छ। तीन महिनाको १ हजार १२९, छ महिनाको २ हजार १४९ र वार्षिक ३ हजार ८२९ शुल्क तोकिएको छ ।

यस्तै प्रिमियममा सिङ्गो परिवारका लागि बनाइएको र प्लेटफर्मले लोकप्रिय भनेर चिनाएको यो योजना मासिक ५ सय ९९ रुपैंयाँमा उपलब्ध छ। यसमा सामग्रीमा फोर के (अल्ट्रा एचडी) गुणस्तरमा हेर्न पाइन्छ र एकैसाथ चारवटासम्म डिभाइसमा चलाउन मिल्छ । तीन महिनाको १ सय ६९९, छ महिनाको ३ हजार २२९ र वार्षिक ५ हजार ७४९ शुल्क छ ।

मेरोस्ट्रिमका अनुसार भिसा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेसबाट जुनसुकै देशबाट भुक्तानी गर्न सकिन्छ । नेपाल र केही अन्य देशमा खल्ती र इसेवाबाट नेपाली रुपैयाँमै भुक्तानी गर्न मिल्छ। कार्डबाट गरिएको भुक्तानी प्रत्येक बिलिङ अवधिको अन्त्यमा स्वतः नवीकरण हुन्छ, जसले सेवामा अवरोध आउँदैन । खल्ती र इसेवाबाट गरिएको भुक्तानी भने आफैँ नवीकरण हुँदैन, प्रयोगकर्ताले फेरि भुक्तानी गर्नुपर्छ। म्याद सकिनु अगाडि प्लेटफर्मले सम्झना गराउने जनाएको छ ।

सामग्री उपलब्ध भएसम्म दर्शकले हेर्दाहेर्दै सबटाइटल र अडियो भाषा बदल्न तथा प्लेब्याक गति मिलाउन सक्छन् । मोबाइल, ट्याब्लेट वा ल्यापटपमा ब्राउजरबाटै हेर्न मिल्ने र एउटा डिभाइसमा छोडेको ठाउँबाट अर्कोमा जारी राख्न सकिने सुविधा रहेको टिमको भनाइ छ ।

सुरुवाती चरणमा मेरोस्ट्रिमले विविध विधाका सामग्री प्रस्तुत गरिने भएका छन् । जसमा फिल्म ‘कुमारी’ र ‘कथापुतली’, सर्ट फिल्म ‘आमा’, ‘डल्स हाउस’ र ‘मिसिङ ब्राइड’ शो ‘मेरो माइक’ स्ट्यान्डअप कमेडी शो, र ‘हजुर आमाको कथा’ रहेका छन् ।