नारायणगढ । फिल्म प्रमोशनका लागि देशदौडाहामा रहेको फिल्म ‘चि मुसी ची’ले चितवनको नारायणगढमा आफ्नो प्रस्तुति दिएको छ । फिल्मकी प्रमुख नायिका अलिशा शर्माको गृहनगर भएकाले पनि चितवनको कार्यक्रममा अलिशा नै प्रमुख आकर्षण बनेकी थिइन् ।
चितवनको कन्सर्टमा मूख्य आकर्षण अलिशाको नृत्य थियो । फिल्ममा समावेश चार गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा र सुसान्त कार्कीको बेजोड नृत्य रहेको थियो भने फिल्ममा समावेश नभएका अन्य केहि गीतमा सुनिल र अलिशाले नृत्य देखाएका थिए । गृहनगरमै कार्यक्रम भएकाले पनि अलिशा निकै ग्ल्यामर रुपमा कार्यक्रममा प्रस्तुत भएकी थिइन् । कार्यक्रममा नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि आफ्ना गीत सुनाइन् ।
निर्देशक दिनेश श्रेष्ठले बिर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढसहित बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाडौलगायतका शहरहरुमा कन्सर्ट गरिने बताए । साउन ११ गतेबाट रिलिज हुने फिल्ममा अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता छन् ।
फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय छ ।