सिंहदरबारमा प्रधानमन्त्री गौरीको संघर्ष

ललितपुर । अभिनेत्री गौरी मल्ललाई मुलुककै पहिलो महिला प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको टेलिश्रृंखला ‘सिंहदरबार’को दोस्रो संस्करण ‘सिंहदरबार २’ शनिवारबाट प्रसारण हुने भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा निर्माण गरेको टेलिश्रृंखला नेपाल टेलिभिजनमा १३ भागसम्म प्रसारण हुनेछ ।

दिगो विकास लक्ष (एसडीजी) प्राप्तिका लागि सर्च नेपालले नेपालस्थित संयुक्त राष्ट्रसंघसँग सहकार्य गरेको श्रृंखलाले दिगो विकास लक्ष प्राप्ति सम्बन्धि सकारात्मक सन्देश प्रवाह गर्नेछ । टेलिश्रृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौति र अवसरहरुमा केन्द्रित रहेको छ । टेलिश्रृंखलामा गौरीलाई प्रधानमन्त्री आशा सिंहको रुपमा प्रस्तुत गरेको छ । यसपटकको श्रृंखलामा नेपालमा संघीय संरचना त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरा देखाइएको छ । श्रृंखलामा मानव वेचविखन, विपद् व्यवस्थापन, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार जस्ता मुद्दालाइ पनि समेटिएको छ ।

ललितपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले टेलिश्रृंखलाले सरकार र नागरिकबीचको खाडललाई कम गर्न तथा संघियता र सुशासनको बारेमा जनचेतना अभिवृद्धि गर्न पुलको काम गर्ने विश्वास व्यक्त गरे । नवीन सुव्वाले निर्देशन गरेको यो टेलिश्रृंखलामा रमेश रन्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकास घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सविना गोपाली र रेम विक लगायतले अभिनय छ ।

टेलिश्रृंखलाका निर्देशक नवीन सुब्बाले श्रृंखलामा नागरिकको अपेक्षा पूरा गर्ने संकल्प लिएकी प्रधानमन्त्री आशा सिंहको राजनीतिक यात्राका साथै उनको मानवीय संवेदनालाई आकर्षक ढंगले प्रस्तुत गरेको बताए । टेलिश्रृंखलाको प्रवद्र्धनका लागि सर्च नेपालले अमेरिकास्थित नेपाल अमेरिका फिल्म सोसाइटीसँग साझेदारी गरेको छ । सर्च फर कमन ग्राउन्डका राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालले नेपालमा सुशासन र सहकार्यात्मक नेतृत्वका लागि मार्गचित्रका रूपमा प्रस्तुत गरिएको टेलिश्रृंखलाले सहकार्यात्मक संस्कारको प्रवर्धनमा जोड दिने बताए ।