दाङमा चलचित्र पत्रकारको सांस्कृतिक कार्यक्रम

दाङ । चलचित्र पत्रकार संघ दाङ शाखाको स्थापना दिवसमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । आगामी भदौ ४ गते हुने विशेष कार्यक्रममा सहभागिता जनाउन नायक तथा मोडल पल शाह दाङ आउँदैछन् । हरेक वर्षको भदौ ४ गते विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउदै आएको संघले यो वर्ष पनि राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको सहभागितामा वृहत् सांस्कृतिक कार्यक्रमसँगै विभिन्न विधामा पुरस्कार वितरण गरि संघको वार्षिकोत्सब मनाउने भएको हो ।

कार्यक्रममा युवा स्टार पल शाह, चलचित्र पत्रकार संघका केन्द्रीय पूर्व अध्यक्ष एवम् साहित्यकार शान्ति प्रिय, गायक कृष्ण काफ्ले, गायिका सहिमा श्रेष्ठलगायतको उपस्थिति हुनेछ ।

कार्यक्रममा दाङ शाखाका संस्थापक अध्यक्ष किशन रेग्मीले आफ्नो हजुरबुवाको नाममा स्थापना गरेको ‘देवलोचन स्मृति चलचित्र पत्रकारिता पुरस्कार’ बाट जिल्लामा रहि चलचित्र पत्रकारितामा कलम चलाइरहेको एक रंग पत्रकारलाई ११ हजार १ सय ११ रुपैयाँ राशिसहित पुरस्कृत गरिनेछ ।  फिल्म क्षेत्रमा रहि कलाकारिताको माध्यमबाट दाङ जिल्लालाई देशविदेशमा चिनाउन भुमिका खेल्ने राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारलाई पनि सम्मान गर्ने कार्यक्रम संघको रहेको छ ।

संघले तुलसीपुरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएको हो । संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहभागीहरुले कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न सल्लाह सुझावहरु दिएका छन् ।संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव सन्तोष केसीले गरेका थिए ।