टर्कीमा प्रदिप र मिरुनाका फूलका कुरा

काठमाडौं । भदौ २२ गते रिलिजको तयारीमा रहेको फिल्म ‘रोजी’को पहिलो गीत ‘फूल हैन’ सार्वजनिक भएको छ । खड्का र मिरुना मगर फिचर्ड गीतलाई टर्कीका पर्यटकीय थलो इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको छ ।

ब्याकग्राउन्ड स्कोरर समेत रहेका एलिस कार्कीद्धारा संगीतबद्ध गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन् । राजेशकुमार श्रेष्ठको शब्दमा कविराज गहतराजको नृत्य निर्देशन छ ।

‘वेस्टर्न र नेपाली टोनलाई गीतमा मिश्रण गरेको छु’ गीत रचनाबारे संगीतकार कार्कीले भने, ‘रोमान्टिक र लभस्टोरी मुडअनुसारको लोकेसनले गीतलाई अझै दर्शनीय तुल्याएको छ ।’  क्राइम थ्रीलर र रोमान्टिक जनरको फिल्मलाई नीरक पौडेलले निर्देशन गरेका हुन् । ‘कुसुमे रुमाल २’ र ‘होमवर्क’ फेम्ड निर्देशक पौडेलको यो तेस्रो प्रोजेक्ट हो जसमा अलग जनर बुनिएको छ ।

अनुप सापकोटाको कथा र केदार भुषालको पटकथा छ । फिल्मले प्रेममा हुने बदला, प्राप्ती, घुम्ती, उतारचढाव र निर्दोषपनको कथा पेश गर्छ । प्रदीप, मिरुना र परमिता राणा मुख्य भूमिकामा छन् । यी तीन पात्र वरपर द्धन्द्ध घुम्छ । राजुविक्रम थापाको छायांकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत र बुद्धिलाल मगरको निर्माण नियन्त्रण छ । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।