गुनगुनमा चन्दाको किस मिस

काठमाडौं । कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘गुनगुन’को पहिलो गीत सार्वजनिक भएको छ । आइटम फ्लेबरको ‘किस मिस’ बोलको गीतमा चन्दा दाहालले नृत्य देख्न सकिन्छ । कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा स्वर सुनिता कार्कीको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्म आगामी कार्तिक ३० गते रिलिज हुँदैछ ।

प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदिप राई, विपिन प्रसाई र निर्देशक भट्टराईको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन छ । निर्देशक पुकारका अनुसार अस्ट्रेलियामा सेप्टेम्बर ३० मा फिल्मको वल्र्ड प्रिमियर हुँदैछ ।

निर्देशक पुकारले आफूले कलाकारितामार्फत संगालेको अनुभवलाई फिल्ममा प्रयोग गरेको बताए । ‘फिल्ममा प्रेम कथासँगै सामाजिक विषयवस्तु पनि रहेका छन् । फिल्ममा दर्शकले भरपुर मनोरन्जन पाउनु हुनेछ ।’ उनले भने ।