फष्टलुकमा फरक रामकहानी

काठमाडौं । आगामी भदौ २२ गते रिलिज हुने फिल्म ‘रामकहानी’को फष्टलुक सार्वजनिक भएको छ । गीत संगीत र ट्रेलर सार्वजनिक भएपछि फिल्म युनिटले फष्टलुक सार्वजनिक गरेको हो ।

केही समय अघि फिल्मको फष्टलुकका लागि फोटोसुट हुँदा फिल्मकी नायिका पुजा शर्मा र आकाश श्रेष्ठलाई राम र सिताको अवतारका रुपमा देखाइएको थियो । जुन फोटोसुट युट्युबमा पनि सार्वजनिक भएको थियो ।

तर निर्माण पक्षले सार्वजनिक गरेको फष्टलुक भने अलिक भिन्न देखिएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको फिल्मले कमेडी र प्रेमको कथालाई उठान गरेको छ ।

फिल्मको पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । त्यस्तै हाँस्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सनविक्रम राइलाई पनि फष्टलुकमा अँटाइएको छ । निर्देशक थापाले सवा २ घन्टा लामो फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सरप्राइज पनि दिने बताए ।