तीन वर्षपछि लण्डनमा पुनः नेपथ्य

काठमाडौ । पाँच वर्ष अघि लण्डनको विम्बले एरेना र तीन वर्ष अघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा सुनिएको सांगीतिक व्याण्ड नेपथ्य पुनः ओ टु एकेडेमीमा गुञ्जिने भएको छ । केही समय अघि अमेरिकाको बोस्टन र टेक्सस तथा जापानको टोकियो डोममा सांगीतिक कार्यक्रम गरिसकेको नेपथ्य आगामी भदौ १६ गते एकेडेमीमा प्रस्तुत हुन लागेको हो ।

व्याण्डको प्रवद्र्धक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले सन् २०१५ मा दोश्रोपटक नेपथ्यले आफूलाई प्रस्तुत गर्दा सबै हिसाबले ब्याण्डका निम्ति त्यसलाई अनुकूल देखिएकोले फेरि त्यही स्थललाई रोजिएको बताए । उनका अनुसार कार्यक्रमका निम्ति एकेडेमीले अनलाइन बुकिङको व्यवस्था गरेको छ । यो स्थानमा बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टी जस्ता गायक तथा समूहले आफूलाई प्रस्तुत गरिसकेको छ । एकेडेमीसँग एरिक क्ल्याप्टन, डायर स्ट्रेट्स्, द पुलिस, ह्वाम र कल्चर क्लब पनि जोडिईसकेका छन् ।

नेपथ्यका प्रमुख गायक अमृत गुरुङले आफूहरुले घरबाट टाढा पुगेकाहरूलाई घरको माया बोकेर लगिदिने गरेको स्मरण गरे । ‘बेलायतको मञ्चमा उभिँदा मलाई जहिले पनि त्यहाँको आत्मीयताले प्रभाव पारिरहेको हुन्छ,’उनले भने,‘लण्डनमा नेपथ्यका सर्वकालीक हिट गीतहरुका साथमा केहि नयाँ गीतहरु पनि पक्कै सुनाउने छौं ।’

बेलायतको शोलाई यसपटक देब्रे इभेन्ट्स्का चन्द्र गुरुङले आयोजना गर्न लागेका हुन् । लण्डनमा अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् । बेलायतमा हाल ८० हजार नेपाली बसोबास गरिरहेका छन् ।