पोखरा । फिल्म ‘रोज’को प्रमोसनका लागि पोखरा पुगेका नायक प्रदिप खड्काले स्थानीय पत्रकारसँग राम्रो फिल्ममा निःशुल्क अभिनय गर्ने घोषणा गरेका छन् । पछिल्लो समय महंगा नायक बनेका प्रदिपलाई पैसाको पछि मात्र लाग्ने नायकको आरोप लागिरहँदा उनले यो घोषणा गरेका हुन् ।
‘मलाई पैसाको पछि मात्र लाग्ने गरेको आरोप आइरहन्छ । तर म यहीबाट राम्रा फिल्मको प्रस्ताव आए निःशुल्क पनि अभिनय गर्नेछु ।’ प्रदिपले भने ।
पोखराबाट शुरु भएको फिल्मको राष्ट्रिय यात्रामा प्रदीपसँगै मिरुना मगर, परमिता राणा, प्रताप दासलगायत छन् ।
नायिका परमिताले आफ्नो जीवनको नजिक पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् । ‘कतै न कतै मेरो जीवनको नजिक मुख्य पात्र भएकाले मलाई काम गर्दा सजिलो र इन्टिमेट महसुस भयो’ राणाले भनिन् ।
त्यस्तै अर्की नायिका मिरुना मगरले प्रदीपसँग काम गर्दा केमेस्ट्री निर्माण भएको बताउँदै आफूले उनलाई सरल र यथार्थवादी व्यक्तिको रुपमा लिएको बताइन् । गायक प्रताप दासले फिल्मको गीत ‘फूल हैन’ गीत गाएर सुनाए ।
यात्रा पोखरा, बुटवल, नारायणगढ, धरान, इटहरीदेखि बिर्तामोड पुगेर टुंगिनेछ । नीरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् ।