दयारामको वृत्तचित्रमा रातका देवताको कथा

काठमाडौं । निर्देशक दयाराम घिमिरेको वृत्तचित्र ‘जोगीः रातका देवता’को ट्रेलर सार्वजनिक भएको छ । पूर्वी पहाडमा प्रचलित जोगीमार्फत फेरी लगाउने संस्कृतिलाई दयारामले वृत्तचित्रमा समेटेका छन् । हार्दिक मिडियाको ब्यानरमा निर्मित वृत्तचित्रलाई घिमिरे आफैले निर्माण गरेका हुन् ।

निर्देशक घिमिरेले विश्वमा छरिएर बसेका नेपाली तथा विदेशीलाई विभिन्न फिल्म फेष्टिभलमार्फत नेपालको फरक र आश्चर्यजनक संस्कृति देखाउने उद्देश्यका साथ वृत्तचित्र निर्माण गरेको बताए ।

‘वर्षमा ३ पटक मध्यरातमा घर वरिपरि घुमेर शंख बजाउदै फेरी लगाउने अनि विहान विधि पूर्वक सिदा लिने परम्परा अझै गाउँघरतिर प्रचलित नै छ,’घिमिरेले भने, ‘वृत्तचित्रमा यो परम्परा कहिलेदेखि सुरु भयो ? यो परम्पराको महत्व के कस्तो छ ? आज पनि गाउँ घरमा फेरी लगाउने जोगीलाई सम्मानपूर्वक सिदा तथा दक्षिणा किन दिइन्छ ? भन्ने देखाउन खोजिएको छ ।’ वृत्तचित्रमा ओमनाथ जोगीले फिचरिङ गरेका छन् । वृत्तचित्रमा रोनिश राउतको छायांकन र हरि उप्रेतीको सहनिर्माण छ ।