विल्सन र बुद्धिको साली, रजनीको भेना कस्तो ?

काठमाडौं । आगामी भदौ २९ गतेबाट कमेडी जनराको फिल्म ‘साली कसको भेनाको’ रिलिज हुँदैछ । फिल्म विल्सनविक्रम राई, रजनी गुरुङ र बुद्धि तामाङको वरपर घुम्छ । फिल्ममा भेना र सालीको सम्बन्ध भए पनि वास्तविक जीवनमा तीनैजना अविवाहित हुन् ।

रजनीलाई हुनेवाला भेना र विल्सन तथा बुद्धिलाई हुनेवाला साली कस्तो परुन् भनेर केही समय अघि सोधिएको थियो । विल्सन र बुद्धिले मिलनसार भद्र भलाद्मी र जिस्किरहने साली आवश्यक रहेको बताइरहँदा रजनीले चाहिँ दिदी माइत गएको बेला घुमाउने किसिमको भिनाजु चाहिएको खुलाईन् ।

नायिका रजनीले आफ्नो भिनाजु नभए पनि फिल्ममा साली बन्दा रमाइलो लागेको बताईन् । ‘फिल्मी भिनाजुले साली भन्दा मजा आउँदो रहेछ । भेनासँग जिस्कन पाइदो रहेछ,’उनले भनिन्,‘त्यसकारण दिदी नहुँदा घुमाउन लाने खालको भेना पाए भने खुशी खुशी हुन्थें । साली आधा घरवाली भन्छन् । दिदी माइत गएको बेलामा मुभी हेर्ने खालको भेनाजु परे अति उत्तम हुन्थ्यो ।’

कलाकार बुद्धिले फिल्ममा काम गरेपछि साली धेरै मिस गरेको बताए । ‘जिन्दगीमा साली आवश्यक छ भन्ने फिल्म हेरेपछि लाग्यो,’उनले भने,‘साली हुनै पर्छ भन्ने निर्णय पनि गरियो । अब एक दुई वर्षमा पक्कै हुन्छ होला ।’त्यस्तै विल्सनले रियल लाइफमा भेना नभए पनि रिल लाइफमा भेना हुने अवसर मिलेको बताए । ‘भेना हुँदा रमाइलो लाग्दो रहेछ,’उनले भने,‘साली राम्री इमान्दार होस् भन्ने चाहना हो ।’

फिल्मका निर्देशक भद्र भुजेलले भेनालाई दुःख पर्दाबाट नजिकबाट साथ दिने साली हुने कुरालाई फिल्ममा देखाइएको बताए । रामप्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याछोन, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारी निर्माता रहेको फिल्ममा सुष्मा कार्की, रवि गिरी, जयनन्द लामा, कविता आलेलगायतको अभिनय छ ।