राजेशपायल फाउण्डेसनलाई जय भोलेको २५ हजार सहयोग

काठमाडौं । निर्देशक तथा निर्माता अशोक शर्मा र भर्सटायल गायक राजेशपायल राईबीच एउटा विशेष सम्बन्ध छ । राजेशपायललाई नेपाली फिल्ममा गायकका रुपमा मौका दिने श्रेय अशोक शर्मालाई नै जान्छ । फिल्म ‘गरिब’बाट पाश्र्व गायकका रुपमा नेपाली फिल्म क्षेत्रमा आएका गायक राजेशपायलले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । यो फिल्मको ‘नागबेली नागबेली चुल्ठोले’, ‘मेरो मनको दैलो खोली’लगायतका गीत गाएका राजेशपायल यिनै गीतका कारण हिट भए ।

झण्डै १२ वर्षपछि फिल्म निर्देशनमा फर्किएका अशोकले आफ्नो फिल्म ‘जय भोले’को तर्फबाट राजेशपायलले स्थापना गरेको संस्था राजेशपायल राई फाउण्डेसनलाई २५ हजार रुपैंयाँ सहयोग गर्दा अशोक र राजेश फ्ल्यासब्याकमा पुगे । ‘म गरिबको तयारीमा थिएँ । त्यो बेला राजेश गायनमा संघर्षरत थिए । संगीतकार शम्भुजित बास्कोटाले उसको र मेरो भेट प्रज्ञा प्रतिष्ठानमा गराइदिनुभयो,’अशोकले भने,‘मैले एकदुईवटा गीत सुनेपछि उसको स्वर राम्रो लाग्यो । अनि मैले फिल्ममा ब्रेक दिएँ ।’ उनले राजेशपायलबाटै सामाजिक सेवाका लागि फाउण्डेसन खोलेको थाहा पाएपछ सहयोगका लाग तत्पर भएको बताए ।

राजेशपायलले पनि निर्देशक अशोकले ब्रेक नदिएको भए आफू अहिलेको अवस्थामा नआउने ठोकुवा गरे । ‘अशोक दाईले मलाई गरिबमा गाउन नदिएको भए त्यो बेलाको राजेशपायल अहिलेको राजेशपायल हुँदैन थियो,’राजेशले भने,‘मेरो सामाजिक कामका बारेमा उहाँले थाहा पाउनुभएपछि सहयोग गर्नुभएको हो ।’

राजेशका अनुसार उनले विश्वका हरेक स्थानमा कार्यक्रम गर्दा उक्त कार्यक्रमबाट प्राप्त आम्दानीको ५ प्रतिशत रकम फाउण्डेसनमा जम्मा गर्दछन् । राजेशको संस्थाले अनाथ, असहाय, गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । फिल्म ‘जय भोले’ दशैंमा रिलिज हुँदैछ । यो फिल्मको एक गीतमा राजेशपायलले पनि स्वर दिएका छन् ।