अनमोलसँग जोडिँदै सलोन

काठमाडौं । फिल्म ‘होस्टेल’ र ‘गाजलु’मा नायक अनमोल केसीसँग स्क्रिन शेयर गरिसकेका अर्का नायक सलोन बस्नेत फिल्म ‘ए मेरो हजुर ३’ मा पनि अनमोलसँगै स्क्रिन शेयर गर्ने भएका छन् । सुनिलकुमार थापाले निर्माण गर्न लागेको फिल्मको अघिल्लो संस्करणमा पनि सलोन थिए ।

फिल्म ‘ए मेरो हजुर २’मा सलोनको कामलाई दर्शकले अत्याधिक रुचाएका थिए । खास गरी फिल्ममा उनले बोलेको कमेडी फ्लेबरको संवादले दर्शकलाई निकै रमाइलो दिएको थियो ।

असोज पहिलो साताबाट छायांकन शुरु हुने फिल्ममा झरना थापाको निर्देशन हुनेछ । झरनाले यसअघि फिल्म ‘ए मेरो हजुर २’बाट निर्देशनमा डेब्यु गरेकी थिइन् । फिल्ममा अनमोलको अपोजिटमा झरना पुत्री सुहाना थापाको डेब्यु अभिनय रहनेछ ।

फिल्ममा अनमोल एक गायक र सुहाना अनमोलको फ्यानका रुपमा रहनेछन् । यो फिल्मको केही दृश्य केही समय अघि पोखरामा भएको अनमोल इभ नामक कार्यक्रममा खिचिएको थियो । जहाँ अनमोलले गीत गाएका थिए । सुहाना इन्टरटेनमेन्टको व्यानरमा बन्ने फिल्म चैत २९ गते रिलिज हुनेछ ।