कलेज–कलेजमा अनुराग टोली

काठमाडौं । आगामी असोज १२ गतेबाट रिलिज हुने फिल्म ‘अनुराग’ को टोलीले कलेज क्यापियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा निर्माण टिम र कलाकार पुगेर फिल्मको प्रचारप्रसार गरेका हुन् ।

फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमलाका अनुसार फिल्म युनिट आइतबार फिल्मका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डितलाई लिएर निर्माण टिम जोरपाटीस्थित समता कलेज र कौशलटारस्थित जनप्रेमी कलेज पुगेका थिए । दुई कलाकार कलेज पुग्दा कलेजका विद्यार्थीले स्वागत गरेका थिए ।

फिल्ममा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । सत्यराज चौलागाईको डेब्यु निर्देशन रहेको फिल्ममा एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा अनुरागमा एक पृथक संगीतिक प्रेमकथा रहेको एलिजा गौतमले बताइन् । सिनेमामा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।