‘बाँध मायाले मेरो लागि अग्नीपरीक्षा’

काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘बाँध मायाले’ कलाकार किशोर खड्काको डेब्यु फिल्म हो । कोरियोग्राफीमा चिनिएका किशोर आफैमा कुशल नृत्यकार पनि हुन् । थुप्रै म्युजिक भिडियोमा काम गरिसकेका किशोरका लागि पहिलो फिल्म अग्नीपरीक्षा सरह बनेको छ ।

‘जोकोहीलाई पनि आफूले दिएको परीक्षाको फल राम्रो आओस् भन्ने चाहना हुन्छ । बाँध मायाले मेरो लागि पनि एउटा ठूलो अग्नीपरीक्षा हो,’उनले भने,‘फिल्मका लागि निकै धेरै मेहनत गरेको छु । दर्शकले मेरो भूमिका रुचाउनुहुनेछ भन्नेमा विश्वस्त छु ।’

किशोरलाई फिल्ममा ल्याउने काम निर्देशक सबिर श्रेष्ठले नै गरेका हुन् । उनले फिल्मकै लागि कोठामै अडिसन दिएका छन् । नाट्यकर्मी सुनिल पोखरेलसँग पनि अभिनयको प्रशिक्षण लिएका छन् । फिल्ममा किशोर प्रहरीको भूमिकामा छन् ।

फिल्ममा आफ्नो चरित्र निभाउन बलिउड तथा दक्षिण भारतीय धेरै फिल्म हेरेका छन् । महेश बाबु, सलमान खानलगायतका कलाकारको फिल्म हेरेका किशोरले फिल्ममा प्रहरीको भूमिका निभाउनु निकै चुनौतिपूर्ण रहेको बताउँछन् । सबिर श्रेष्ठ निर्देशित फिल्ममा सृष्टि श्रेष्ठ, आर्यन अधिकारी, राजाराम पौडेललगायतको पनि अभिनय छ ।