प्रेमजीवनमा सोबिताको वराङ्गना

काठमाडौं । नायिका सोबिता सिम्खडाको पहिलो साहित्यिक उपन्यास ‘वराङ्गना’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार पुस्तक सार्वजनिक गर्दै साहित्यकार एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पछिल्लो समय साहित्यको क्षेत्रमा कलम चलाउने महिलाको संख्या वृद्धि भइरहेकाले एक दशकमै राम्रो उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

साहित्यकार नवराज लम्सालले पुस्तकको समिक्षा गर्दै ‘वराङ्गना’ प्रेम जीवनमा आधारित समसामयिक कृति भएको बताए । ग्रामीण परिवेशमा बोलिने भाषामा लेखिएको पुस्तक सामाजिक यथार्थता चित्रण गर्न सफल रहेको उनले जनाए ।

कार्यक्रममा पत्रकार बबिता बस्नेत, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी, राष्ट्रिय दलित आयोगका पूर्वसदस्य सचिव सीताराम घले परियार, लेखिका सिम्खडा लगायतले वर्तमान प्रेम जीवनलाई उपन्यासमा उतारिएको बताए । सिम्खडाले दुई दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् ।