हड्तालमा उत्रिए जितु नेपाल !

काठमाडौं । हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले शैक्षिक हड्तालको घोषणा गरेका छन् । अभिनयमा सक्रिय जितुले के कारणले शैक्षिक हड्तालको घोषणा गरेका हुन् त्यो भने खुल्न सकेको छैन । जितुले वास्तविक जीवनमा भने हड्तालको घोषणा गरेका होइनन् ।

आगामी असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘छक्का पन्जा ३’को शनिवार सार्वजनिक ट्रेलरमा जितुलाई शिक्षकको भूमिकामा देखाइएको छ । एक विद्यालयमा पढाउने उनले कसको कारण किन शैक्षिक हड्तालको आव्हान गरे भन्ने थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्नेछ ।

दीपाश्री निरौला निर्देशित फिल्मको ट्रेलरमा जातीय विभेद, विद्यालयमा हुने राजनीति र अशिक्षित युवाहरूको पीडालाई देखाइएको छ । ट्रेलरमा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलगायतले फिचरिङ गरेका छन् ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्ममा नीर शाह, शिवहरी पौडेल, विल्सनविक्रम राई, किरण केसी, बसन्त भट्ट, अनुराग कुँवर, जयनन्द लामालगायतको पनि अभिनय छ । फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला केमियो भूमिकामा छन् ।

दीपककै कथा र पटकथा रहेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र यमन श्रेष्ठको संवाद, पुरुषोत्तम प्रधानको छायांकन, दीपक शर्मा र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व र विपिन मल्लको सम्पादन छ । सुमन गिरी ‘भान्जा’, शिवहरि पौड्याल, किरण केसी, ताराचन्द्र बजगाई ‘निशान’, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माता रहेको फिल्ममा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता छन् ।