सेरोगेसीबाट अभिभावक बन्दै सेलिब्रिटीहरू

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री लिजा रे जम्ल्याहा सन्तानकी आमा बनेकी छन् । उनले ४६ वर्षको उमेरमा आमा बन्नु सुख सेरोगेसीको माध्यमबाट पाएकी हुन् । आमा बनेको करिब तीन महिना पछि उनले यो कुराको जानकारी इन्स्टाग्राममार्फत सबैमा गराइन् ।

अभिनेता जोन अब्राहमसँग फिल्म ‘वाटर’मा काम गरिसकेकी लिजालाई सन् २००९ मा ब्लड क्यान्सर भएको थियो । उनले सन् २०१० मा आफूलाई क्यान्सर भएको घोषणा गरे पनि हालसम्म पूर्ण रुपमा स्वस्थ भएकी छैनन् । सन् २०१२ मा लिजाले व्यापारी जेसन देहनीमा विवाह गरिन् र यो वर्षको जुनमा उनी सरोगेसीको माध्यमबाट आमा बनिन् ।

सरोगेसीका माध्यमबाट आमा बन्ने लिजा एक्ली कलाकार होइनन् । बलिउडमा सेरोगेसीको माध्यमबाट आमाबाबु बन्ने सिलसिला सबैभन्दा पहिले शाहरुख खान र गौरी खानले गरेका थिए । गौरी र शाहरुखले तेस्रो सन्तानको जन्म सरोगेसीबाटै दिएका हुन् । उनीहरुले सरोगेसीबाट जन्मिएको सन्तानको नाम अबराम राखेका छन् ।

अर्का अभिनेता आमिर खानले आफ्नो दोस्री श्रीमति किरण रावसँग मिलेर सरोगेसी सेलिब्रिटी एजेन्सीमा सम्पर्क गरेका थिए । उनीहरुले एजेन्सीमार्फत एक छोराको सुख पाए । अभिनेता सोहेल खान र उनकी श्रीमति सीमा खानको एउटा छोरा पहिल्यै देखि नै थियो । तर आफ्नो पहिलो बच्चा भएको १० वर्षपछि अर्को एक बच्चाको चाहना उनीहरुले देखाए । त्यही मौकामा सोहेल र सीमाले सेरोगेट आमाको सहारा लिए ।

बलिउड अभिनेता तुषार कपुरले हालसम्म विवाह त गरेका छैनन् । तर सेरोगेसीको माध्यमबाट उनी एक छोराको पिता बनेका छन् । उनी इन विट्रो फर्टिलाइजर (आईवीएफ) पद्धतिको प्रयोग गरेर पिता बनेका हुन् । यस्तै निर्माता तथा निर्देशक करण जोहार पनि सेरोगेसीको माध्यमबाट पिता बनिसकेका छन् ।

‘मेडिकल विज्ञानको मद्धतले मेरो हृदयको दुई टुक्रा पृथ्वीमा आउने र मलाई पिता बनाएकोमा म सौभाग्यशाली महशुस गरिरहेको छु । पिता बन्ने सबै जिम्मेवारी सम्झिए पछि मैले यो भावनात्मक फैसला गरेको हुँ ।’उनले ट्वीटेका थिए । कमेडियन कृष्णा र कश्मीरा शाहले पनि जम्ल्याहा सन्तान सेरोगेसीकै माध्यमबाट जन्माएका हुन् ।