चार फष्टलुकमा फूलपातीको जय भोले

काठमाडौं । आगामी असोज ३० गते अर्थात फूलपातीको दिन पारेर रिलिज हुने फिल्म ‘जय भोले’को चार फष्टलुक सार्वजनिक भएको छ । ‘यसपालीको दशैं जय भोलेसँगै’ भन्ने नाराका साथ फिल्मको रिलिज मितिसँगै चार फष्टलुक सार्वजनिक गरिएको हो ।

यसअघि दशैंमा दुई फिल्म ‘जय भोले’ र ‘छक्का पञ्जा ३’ सँगै आउने चर्चा चलिरहँदा फिल्मका निर्माता तथा निर्देशक अशोक शर्माले आफुहरुले दर्शकहरुको चाहनाअनुसार फूलपातीका लागि उपयुक्त मिति राखेको दाबी गरे ।

शर्माका अनुसार फिल्म दशैंमा रिलिज गर्न काठमाडौं र मोफसलका बहुसंख्यक हलसँग आपसी सम्झौता भइसकेको छ । उनले फिल्म हलका सञ्चालकको सल्लाहमा आफूले फूलपातीमा फिल्म ल्याउन लागेको खुलाए । फष्टलुकमा फिल्मका सबै कलाकार अँटाएका छन् ।

फिल्ममा खगेन्द्र लामिछाने सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्धी तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द चन्द, रामचन्द्र अधिकारीलगायतले मुख्य भूमिका रहेको छ । राजनराज सिवाकोटीको संगीत रहेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।