आठ मिनेटको दृश्यलाई ५४ करोड खर्च

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका चिरन्जीवीलाई जबरदस्त एक्सनका लागि पुरै भारतमा चिनिन्छ । चाँडै नै उनी फिल्म ‘सये रा नरसिम्हा रेड्डी’मा देखिँदैछन् । यो फिल्म सुटिङको समयदेखि नै बजेटको विषयलाई लिएर निकै चर्चामा छ ।.

समाचार अनुसार यो एक पिरियड ड्रामा फिल्मको एक युद्ध दृश्य खिच्नकै लागि निर्माताले ५४ करोड रुपैंयाँ खर्च गरेका छन् । फिल्ममा यो युद्धको दृश्य ८ मिनेटको मात्र छ ।
यो फिल्मलाई चिरन्जीवीका छोरा रामचरण तेजा निर्माण गरिरहेका छन् । फिल्ममा सुरेन्द्र रेड्डीको निर्देशन छ । फिल्मको बजेट २ सय करोड रुपैंयाँ राखिएको छ ।

फिल्मको पुरा समूह यो बेला जर्जियामा युद्ध दृश्यको छायांकन गरिरहेको छ । यो दृश्य फिल्मको क्लाइमेक्समा देखाइनेछ । फिल्म सुटिङकै लागि हैदराबादबाट झण्डै १ सय ५० जनाको समूह जर्जिया गएको छ । यो फिल्मका लागि ६ सय स्थानीय कलाकारहरु पनि भाडामा लिइएको छ ।