वर्षा भन्छिन्,‘म विपिनकी श्रीमति’

काठमाडौं । दुई वर्ष अघि रिलिज भएको फिल्म ‘जात्रा’ले व्यावसायिक सफलता मात्र पाएन । समिक्षकबाट पनि उस्तै राम्रो प्रतिक्रिया पायो । फिल्ममा श्रीमानश्रीमतिको भूमिकामा देखिएका वर्षा राउत र विपिन कार्कीको जोडीलाई दर्शकले उसै गरी रुचाए । अब यो जोडी पुनः श्रीमान श्रीमतिकै रुपमा ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा कमव्याक गर्दैछन् ।

फिल्मको बिहीबार राजधानीमा हाँस्य कलाकार हरिवंश आचार्यको उपस्थितिमा घोषणा गरियो । दशैको पूर्णिमाको भोलिपल्टबाट छायांकन शुरु हुने फिल्ममा प्रदिप भट्टराईको लेखन तथा निर्देशन छ । निर्देशक भट्टराईले फिल्मले पैसाको मात्र कथा नभन्ने र फिल्म दर्शकका लागि विशेष सरप्राइज हुने बताए ।

नायक विपिन कार्कीले फिल्मको सिक्वेलमा पनि जोडिन पाउँदा उत्साहित रहेको बताउँदै यसपटकको कथा फरक रहेको खुलाए । नायिका वर्षा राउतले यसपटक पनि फिल्ममा विपिनकी श्रीमतीको भूमिकामा देखिने बताइन् । ‘म विपिनकी श्रीमति बन्दैछु । जात्रा मेरा लागि करिअरको टर्निङ पोइन्ट बनेको थियो । यसले पनि मेरो करिअरलाई नयाँ मोड दिनेछ भन्ने आशा छ ।’ उनले भनिन् ।

विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठीको अभिनय रहने फिल्ममा रविन्द्र सिंह बानिया कार्यकारी निर्माता छन् । सिंगे लामा र यादव पौडेल निर्माता रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र मित्र डी गुरुङको सम्पादन छ । फिल्म फागुन १७ मा रिलिज हुँदैछ ।